काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका छन्।
समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष ओली संसद अवरुद्ध गरिरहेकाले अहिले पनि प्रतिगमनकै बाटोमा रहेको पुष्टि भएको बताएका हुन्।
उनले अदालतले ह्वीप नलाग्ने फैसला गरिसकेको, सभामुखले आफूले लिनुपर्ने निर्णय १३ दिनमै लिएको र कतै पनि संविधानको मर्म र भावना विपरित नभएको भन्दै अहिले संसद अवरुद्ध गर्नुको औचित्य प्रतिगमन नै रहेको दाबी गरे।
अध्यक्ष दाहालले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्र विरोधी भएको पुष्टि हुने बताए।
दाहालले भने, ‘अदालतको फैसला छ, ह्वीप लाग्दैन भन्ने फैसला छ। अनि सभामुखले १५ दिनभित्र उहाँले लिनुपर्ने निर्णय १३ दिनकै दिन लिनुभएको छ। त्यहाँ कहीँ कतै ऐनको उल्लंघन पनि छैन। संविधानको मर्म र भावनाको उल्लंघन पनि छैन। तर अहिले पनि केपीजी माधवजी देखिएपछि त्यहाँ उपस्थित नहुने कसो अस्ति नेपाली कांग्रेसको महाधिवेशनमा आउनुहुन्न की भनेको आउनुभयो। नत्र माधवजी कहीँ जाने भन्ने भयो भने त्यहाँ उहाँ नजाने।
यो भन्दा अराजनैतिक, अलोकतान्त्रिक र निरंकुश चरित्र अरु केही हुन्छरु उहाँको अघि यो त प्रस्ट नै छ। निर्वाचन आयोगले मान्यता दिएको छ। अदालतले निर्णय गरिदिएको छ। संसदले स्वीकार गरेको छ। ५ दलीय गठबन्धन बनेर सरकार चलिरहेको छ। त्यो कुरालाई अस्वीकार गर्ने जो भनिएको छ, यसबाट पनि उहाँको प्रवृत्ति भनेको बिल्कुल लोकतन्त्र विरोधी निरंकुश हो भन्ने कुरा प्रष्ट नै देखिन्छ।’
अध्यक्ष दाहालले संसद अवरोध गरिरहनुको कारण गठबन्धन तोड्नु रहेको बताए। उनले एमाले अध्यक्ष ओलीले गठबन्धन तोडाउनका लागि कांग्रेसलाई एकलौटी सरकार बन्न दिने र एमालेले त्यसमा सहयोग गर्ने साथै एमसीसी पास गराउन सहयोग गर्ने भनेर खुलेआम तर्क दिइरहेको दावीसमेत गरे।