काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र क्रियाशील सदस्यता छानबिन समितिको गलत कामका कारण कांग्रेस कार्यकर्ता आन्दोलित हुनु परेको बताएका छन् । उनले क्रियाशील सदस्यता वितरणमा भएको गलत काम सच्याउन आग्रह गरे ।
प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको गृह जिल्ला डडेल्धुरामा अनशनमा बसेको कांग्रेस कार्यकर्ताको आन्दोलनमा ऐक्यबद्धता जनाउन गएका कोइरालाले आइतवार आयोजित सभामा कोइरालाले कार्यकर्ताले उजागर गरिदिएपछि नेताले गल्ती स्वीकार्नु पर्ने बताएका हुन् । क्रियाशील सदस्यता वितरणमा भएको विभेदले कार्यकर्तालाई अन्याय परेको भन्दै आफूहरू डडेल्धुरा आएको उनले बताए ।
‘जे जति गल्ती गर्नुभयो, त्यो कमी कमजोरी उहाँहरूले सच्याउनु हुनेछ र न्याय दिनुहुनेछ भन्ने विश्वास छ । शेरबहादुरजीले यो सभा हेरिरहनु भएको होला, सभापतिजी र क्रियाशील छानबिन समितिले गरेको गलत काम सच्चाउ भनेर तपाईंहरू यहाँ आउनु भएको हो,’ कोइरालाले भने, ‘लोकतन्त्रमा नेताले गलत काम गरेको छ भने त्यो उजागर गर्ने जिम्मा कार्यकर्ताको हो । डडेल्धुरामा गलत काम सभापतिजीले गर्नु भएको छ, तपाईंहरूले उजागर गरिदिएको हो ।’
कोइरालाले मुलुकको लोकतन्त्र र कांग्रेसको भविष्यका लागि महत्त्वपूर्ण रहेको भन्दै गल्ती भए कांग्रेस कमजोर भएर जाने बताए । ‘१४ औं महाधिवेशनले कस्तो कांग्रेस बनाउने कार्यकर्ताले निर्णय गर्ने हो, त्यो निर्णयमा अलिकति गल्ती भयो भने कांग्रेस कमजोर भएर जान्छ । त्यसैले १४ औं महाधिवेशन कांग्रेस र लोकतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण छ,’ कोइरालाले भने ।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गुरुराज घिमिरेलगायत नेताहरू डडेल्धुरा पुगेर धर्नामा बसेका कार्यकर्तालाई दशैं तिहारसम्मका लागि आन्दोलन स्थगित गराएका थिए । कांग्रेसको १४ औं महाधिवेशन मंसिर १० गतेदेखि हुँदैछ । महाधिवेशनका लागि नगर र जिल्ला तहमा अधिवेशन चलिरहेको छ ।