काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यपालिकामा समस्या आउँदा कानुन व्यवसायीहरुले लगाएको गुन नबिर्सिएको बताएका छन् । अहिले न्यायापालिका समस्यामा रहेको भन्दै उनले राजनीतिक दलहरुले गुनको पैंचो तिर्ने बताए ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसन र सर्वोच्च बारका पदाधिकारीहरुले बुधबार प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए । त्यसक्रममा उनीहरुले न्यायालयमा समस्या देखिएको डेढ महिना हुँदा पनि दलहरुल कानमा तेल हालेर बसेको गुनासो गरेका थिए
जवाफमा प्रचण्डले भने, ‘कार्यपालिकामा हिजो समस्या भयो, हामीले न्याय क्षेत्रमा काम गर्ने बारदेखि पूर्वप्रधानन्यायाधीश, न्यायाधीहहरु, कानुन व्यवसायी सबैसँग झन्डैझन्डै गुहार माग्दै हिँडेको जस्तो स्थिति थियो, हिजो कार्यपालिकामा समस्या देखा पर्दा, हामीलाई त्यहाँबाट ठूलो सहयोग प्राप्त पनि भयो ।’
‘त्यसले जनमत निर्माणका साथै अदालतको निर्णयलाई प्रभावित पार्ने हकसम्म सकारात्मक अर्थमा महत्वपूर्ण भूमिका खेलेको छ । त्यसकारण म यहाँहरुलाई के भन्न चाहन्छु, हामीले बिर्सियौं कि भन्ने नठानियोस् । तपाईंहरुले लगाएको त्यो गुनको पैंचो राजनीतिक दल र कार्यपालिकाले तिर्नु पर्छ ।’