काठमाडौं । इटहरीका मेयर तथा नेकपा एमालेका नेता द्वारिकलाल चौधरीको घोषणाले सिङ्गो एमालेमा खुसीयालि छाएको छ । चौधरीले आफू एमालेमै रहेको घोषणा गरेका छन् । यसले एमालेमा खुसीयाली छाएको छ ।
उनीसहित एमालेका जनप्रतिनिधिहरु नेकपा एकीकृत समाजवादी (एस)मा प्रवेश गर्ने हल्लाले शुक्रबार इटहरी तातेपछि चौधरीले मुख खोलेका हुन् ।
मेयर चौधरीको घरमा नेकपा एसका अध्यक्ष माधव नेपाल र मुख्यमन्त्री राजेन्द्र राईबीच भेटघाट रहेको र चौधरी, वडाध्यक्ष चन्द्र भट्टराईसँगै धेरै जनप्रतिनिधिहरु पार्टी प्रवेश गर्न लागेको भन्दै फेसबुकमा लेखिएपछि इटहरी तरंगित भएको हो ।
फेसबुकमा लेखिए अनुसार नेपाल, राईलगायत नेकपा एसका नेताहरु मेयर चौधरीको घर पुगेका थिए । नेकपा एकीकृत समाजवादी इटहरी नामक फेसबुक प्रोफाइलमार्फत यस्तो पोष्ट भएको थियो ।
केही समयअघि उनले एकीकृत समाजवादीका १ नं. प्रदेश अध्यक्ष एवम् उदयपुर त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीसँग गफ गर्दै गरेको भनेर फोटो र घुँगी खाँदै गरेको भिडियो फेसबुकमा पोष्ट गरेका थिए ।
एमाले कम्पनीजस्तो भयो भनेर चौधरीले केही दिनअघि अधिवेशन आयोजक समिति गठन गर्न गरिएको भेला बहिष्कार गरेका थिए । इटहरीमा फेरी पनि मेयरको टिकटको दावेदारी दिएका चौधरीले सोको लागि पार्टीसमेत परिवर्तन गर्न सक्ने एकाथरीको आँकलन छ ।
चौधरीले भने आफ्नो काम आ गो झोस्ने भएको भन्दै आगो झोस्दा डढेलो लागेको बताए । ‘बलदेव मेरो दाजु हो , दाजु घरमा आउँदा नभेट्ने भन्ने हुन्छ ?,’ उनले भने । उपमहानगरको विकासको बिषयमा लिएर मुख्यमन्त्री राजेन्द्र राईलाई भेटेको उनले बताए । उनले आफू एमालेमै रहेको समेत स्पष्ट पारे ।