काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले राजनीतिले जनताको विश्वास गुमाइसकेको बताएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित भएका पौडेलले सोमबार बुढानिलकण्ठ नगरपालिका–४ को विष्णुमती किनारमा करिडोर सडकको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।
उनले विकास निर्माणका काम हुन नसके राजनीतिको ठूलो तहमा पुगेका नेताहरुलाई पनि समाजले सम्मान गर्ने स्थिति नरहने दाबी गरे । उनले यसअघि विष्णुमतीमा मापदण्डअनुसार करिडोर बनाउन किन रोकिएको भन्दै प्रश्नसमेत गरे ।
उनले कतिपय सडकमा विद्युत प्राधिकरणले तार भूमिगत गर्ने भन्दै सडक अलपत्र छोडेको र मेलम्ची खानेपानीका लागि पाइप बिच्छ्याउन सडक खनेर अलपत्र पारेकाले जनताले सास्ती भोग्नुपरेको बताए ।


