काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत प्यानलका जंगबहादुर तामाङ विजयी भएका छन्। उनले शेखर कोइराला खेमाका बंशलाल तमाङलाई पराजित गरेका हुन् ।
शनिबार राति सम्पन्न मत परिणाम अनुसार जंगबहादुरले ९ सय १२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी बंशलालले ८ सय ४८ मतमात्रै प्राप्त गर्न सफल भए । शनिबार भएको मतदानमा १ हजार सात सय ८७ मत खसेको थियो। पहिलो चरणको निर्वाचनमा ३ जनाबीच प्रतिस्पर्धा भए पनि कसैले बहुमत ल्याउन नसकेपछि शनिबार पुनः मतदान भएको हो । यसअघिको सभापतिमा संस्थापनइतर समुहका विकाश लामा विजयी भएका थिए ।
सिन्धु कांग्रेसमा संस्थापन र शेखर पौडेल समूहबीच कडा टक्कर हुँदै आएको छ । यसपालि भने संस्थापन पक्ष नै बलियो भएको देखिएको छ । जंगबहादुरलाई देउवा र बंशलाललाई शेखर कोइराला र पार्टी उपसभापति पूर्णबहादुर खड्काको समर्थन थियो । अर्थात् संस्थापन समुहमा नै एकमत देखिएको थिएन ।