काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले पूर्वमाओवादीहरू सबै एक ठाउँमा आउने वातावरण बनेको दावी गरेका छन् ।
अध्यक्ष प्रचण्डले आइतबार माओवादी पार्टी निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै विभाजनलाई निषेध गर्दै एकताले ठाउँ लिन लागेको र पूर्वमाओवादीहरू छिट्टै एक ठाउँमा आउने जिकिर गरेका हुन् ।
उनले आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउने षड्यन्त्र भइरहेको भन्दै परिवर्तनकारी शक्तिहरू एक हुनुपर्नेमा जोड दिए । ‘संघीयतालाई उल्ट्याएर यसलाई कमजरोर बनाउने प्रयास भइरहेको छ’ उनले भने, ‘आन्दोलनबाट लडेर ल्याएको यो परिवर्तनलाई संस्थागत गर्दै यसमा टेकेर थप अगाडि बढ्ने र संविधानलाई थप परिमार्जित गर्ने संघर्षमा छौं ।’
अध्यक्ष प्रचण्डले अहिलेको परिवर्तनमा कर्मचारीहरूको पनि उल्लेख्य भूमिका रहेको भन्दै कर्मचारीलाई राजनीतिकरूपमा संगठित हुने अधिकार रहेको बताए ।


