काठमाडौं । एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गरेका छन् । उनले आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो घोषणा गरेका हुन् ।
प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारवाही सिफारिस गरेपछि उनी आफैं पार्टीबाट अलग भएका हुन् ।
एमाले केन्द्रीय समितिको बैठकले २०७८ मंसिर २६ मा प्रसाईलाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो । विगतमा माओवादी अध्यक्ष प्रचण्डनिकट उनी पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बनेका थिए । अहिले उनी पूर्वराजासँग नजिकिएका छन् । पछिल्लो समय उनी देश बचाउन भन्दै अभियान लागेका छन् ।


