काठमाडौं । आज (विहीबार) बाट काठमाडौं उपत्यकाको फोहर अब एक साता नउठ्ने भएको छ।
फोहर व्यवस्थापन गर्दै आएको नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरे डाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक हप्ता फोहोर व्यवस्थापनको काम रोकिने महानगरपालिकाले जनाएको छ।
सहरी विकास मन्त्रालयले बाटो मर्मतको काममा समस्या आएको भन्दै महानगरलाई केही दिन फोहोरको गाडी नपठाउन भनेकाले फोहोर व्यवस्थापन कार्य रोकिएको हो।
आजदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन्।


