काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको युद्ध अपराधसम्बन्धी रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।
माओवादी जनयुद्धकालका बाल सैनिक लेनिन विष्टले दिएको निवेदनउपर सुनुवाइ गर्दै न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले मागबमोजिमको आदेश दिएको हो । सर्बोच्च प्रशासनले दरपीठ गरेपछि उनले निवेदन दिएका थिए ।
बाल सैनिक लेनिन विष्टले प्रचण्डलाई विपक्षी बनाई सशस्त्र द्धन्द्धकालमा आफूलाई बाल सैन्यको रूपमा भर्ती गरी जबर्जस्ती अयोग्य लडाकुको बिल्ला भिराई शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै न्याय पाऊँ भनी रिट लगेका थिए ।
सर्वोच्च प्रशासनले रिट दर्ता गर्न नमानेपछि उनी रिट निवेदन दर्ता गरिपाऊँ भनी गएकोमा भट्टराईको इजलासले निवेदकको मागबमोजिम रिट दर्ता गर्न आदेश दिएको छ ।


