काठमाडौं । मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य विरोध खतिवडालाई भोट माग्ने क्रममा एक स्थानीयले हातपात गरेका छन् ।
मंगलबार पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–४ मा भोट माग्न पुगेका खतिवडा आफ्नो गाडीबाट ओर्लनसाथ अन्दाजी ५० वर्षका पुरुषोत्तम खड्काले दुई झापड हानेको स्थानीयले बताएका छन् ।
उम्मेदवारमाथि हातपात भएपछि इलाका प्रहरी कार्यालय नेवारपानीले खड्कालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बताए ।
यसैबीच उम्मेदवार खतिवडाले भने आफूलाई आक्रमण गर्न एमालेले जाँड खुवाएर मान्घे पठाएको आरोप लगाएका छन् ।,


