काठमाडौं । सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जेठ १० गतेको बैठकमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गरेको भनेको र पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तल राखेको भनेका शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी एमालेको माग र सोही विषयलाई लिएर संसद् अवरोध गरेपछि संसद्को रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।
एमालेले पशुपतिनाथमा जलहरी लगाउँदा सुन भनेर पित्तल राखेको भन्ने शब्द हटाउन माग गरेको थियो । तर, शनिबारको बैठकमा सभामुख घिमिरेले भने कोरोनाकालमा स्वास्थ्य सामग्री खरिदमा दुई अर्ब भ्रष्टाचार गरेको भन्ने शब्द पनि हटाउन निर्देशन दिइएको हो । ‘ स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार र पशुपतिको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएको भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन गर्दछु,’ सभामुखले भने ।


