काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट सर्वोच्च प्रशासनले दरपिठ गरेको छ।
पूर्व अयोग्य लडाकूका तर्फबाट लेलिन विष्टसहितले पेस गरेको रिटलाई रजिष्ट्रार नारायण पन्थीले दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेका हुन्।
पूर्व बालसेना भएकाले र प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा सहभागी गराएको तर पछि आफूहरुलाई अयोग्य भन्दै निकालिनुका साथै अवमूल्ययन गरेको दाबी रिटमा गरिएको थियो।
पूर्व बालसेनाहरू विष्ट, कृष्णप्रसाद दंगाल, रामेश्वर खड्का, शोभा रायमाझी, तुलसी नेपाल, सागरकुमार चौहान, मदन राई, राजन तामाङ र खेमबहादुर राईले संयुक्त रिट पेस गरेका थिए।
सर्वोच्चले द्वन्द्वकालीन घटनालाई नियमित अदालतभन्दा संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रियाले नै टुङ्गाउने र सम्बोधन गर्ने भन्दै सर्वोच्च प्रशासनले दरपिठ गरेको हो। सर्वोच्च प्रशासनले रिट दरपीठ गरेकाले अब इजलासमा निवेदन दिने उनले बताए।


