काठमाडौं । गाई चुनाव चिह्न आफ्नो हुनुपर्ने दाबी गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले दायर गरेको रिट सर्वोच्च अदालतले आज खारेज गरिदिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले थापाले दायर गरेको रिट खारेज गरिदिएको हो । रिट खारेजीसँगै राप्रपा नेपालले गाई चुनाव चिह्न नपाउने भएको छ । निर्वाचन आयोगले थापाको पार्टी राप्रपा नेपाललाई तीर चुनाव चिह्न दिएको छ । यस सम्बन्धी पेशी पटक पटक सर्दै आएको थियो । राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएर राप्रपा बनेपछि तत्कालीन राप्रपा नेपाल खारेज भएको थियो । नयाँ राप्रपा नेपाल गठन गर्दा यो पार्टीको चिन्ह ‘गोरु’ थियो । राप्रपा नेपाल बनेपछि अरु पार्टीसँग एकता पनि भएको थियो । एकतापछि पनि पार्टीको नाम राप्रपा नेपाल नै थियो । पार्टीको नेतृत्व लाक्पा तामाङले गरेका थिए ।
तामाङले पार्टीमा छलफल नगरी नै पार्टी कमल थापालाई जिम्मा लगाएको भन्दै राष्ट्रिय अध्यक्ष राणाले आपत्ति जनाएका छन् । राणाले राप्रपा नेपाललाई गाई चिन्ह दिन नहुने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । गत मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापा तामाङ नेतृत्वको पार्टीको अध्यक्ष बनेका थिए । राणाले पार्टी आफूले बनाएकाले थापा आधिकारिक अध्यक्ष नभएको भन्दै आएका छन् । राप्रपा नेपालले भनें आफूहरुको चुनाव चिन्ह गाई पुरानै भएकाले पाउने दाबी गरेको थियो । यो पार्टी गाई चिन्ह नपाएपछि थप संकटमा परेको छ । २०७० सालको संविधानसभामा राप्रपा नेपालले गाइको नाममा २४ सिट समानुपातिक सांसद पाएको थियो ।


