काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रको निर्णय प्रक्रियामा संख्या हाबी भएको बताएका छन् । उनले काठमाडौं क्षेत्र नं. ४ मा शुक्रबार आमनिर्वाचन लक्षित विभिन्न जिल्लाका लागि गठित सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दे यस्तो बताएका हुन् ।
‘हामीले केन्द्रीय समितिमा, पार्टीको छलफलमा आफ्नो विचार राख्छौँ, तर त्यो पार्टीको निर्णय बन्दैन । फरक मतकोरुपमा दर्ज हुन्छ, तर पार्टीको राजनीतिक लाइन बन्दैन । त्यहीकारण अहिलेको यो सबै अलमल भइरहेको छ,’ महामन्त्री थापाले भने, ‘हामी माथि छौँ, यहाँ हामीलाई संख्या थिचेको छ । त्यसैले अब माथि बसेर मात्रै हुदैन, हामी भुँइमा जानु आवश्यक छ । कांग्रेसको वास्तविक विचार र सिद्धान्तलाई अपनाएको कार्यकर्ताको ठूलो तप्का गाउँमा छ । कार्यकर्ताको त्यो हिस्सा पक्षपाति पनि छैन । उसलाई संख्यासँग पनि मतलव छैन ।’


