काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार विक्रम पाण्डे निर्वाचित भएका छन् । उनी ३५ हजार ५५ मत पाएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका भोजराज अधिकारीले २५ हजार ८२२ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले १४ हजार ८४२ मत ल्याउँदा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले १२ हजार २७५ मत ल्याए । यसअघि यस निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जितेका थिए । यसपालि माओवादी अध्यक्ष प्रचण्ड आफ्नो साविकको निर्वाचन क्षेत्र छोडेर गोरखा २ मा उम्मेदवार बनेका थिए । पाण्डे यसअधि धेरैपटक मन्त्री भइसकेका नेता हुन् । उनी चितवनमा विकासवादी नेताको रुपमा परिचित छन् ।


