काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सम्मानजनक रुपमा पद बाँडफाँट गरेमात्रै आफ्नो दल सरकारमा सामेल हुने निर्णय गरेको छ । मंगलबार सम्पन्न जसपाको राजनीतिक समितिको बैठकले नीति तथा कार्यक्रम र शक्तिको बाँडफाँटको विषयमा सहमति नभए सरकार बाहिरबाट समर्थन गर्ने जनाएको छ ।
२ दिनसम्म चलेको समितिको बैठकले अन्य राजनीतिक दल वा संगठनहरुसँग एकता, सहकार्य र गठबन्धन सम्बन्धमा वार्ता गर्न राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली पनि गठन गरेको छ ।
जसको सदस्यमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेका छन् । त्यसैगरी निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, अन्तर्घात गर्नेहरुको सम्बन्धित समितिहरुबाटै कारबाही गर्ने निर्णय पनि समितिले गरेको छ ।
संघीय परिषद् र केन्द्रीय सदस्यहरुको भूमिकाबारे छानबिन गर्नका लागि शिवलाल थापा मगरको संयोजकत्वमा ५ सदस्यीय समित गठन भएको छ ।


