काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तलाई भेट्न सिंहदरबार गएका नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित २५ जनाको जम्बो टोली सिंहदरबारको गेटबाटै फर्किएको छ ।
त्यसका लागि शिक्षा मन्त्रालयले २५ जनाको सूची गेट पासका लागि सिंहदरबारको गेटमा पठाएको थियो । सुरक्षाकर्मीले सोही अनुसार मन्त्रीलाई भेट्न आउने शिक्षक नेताहरूको गेट पास लिएर बसेको थियो ।
सिंहदरबारभित्र जान पुगेका शिक्षक नेताहरू सिंहदरबारको गेटबाटै फर्किए । उनीहरू शिक्षामन्त्रीलाई भेट्न भित्र नगईकन गेटबाटै फर्किएका हुन् । शिक्षामन्त्री पन्त र शिक्षा सचिव डाक्टर दीपक काफ्लेले उनीहरूलाई वार्तामा आउन आग्रह गरेका थिए ।
महासङ्घ अध्यक्ष सुवेदीले सामाजिक सञ्जालमा विशेष कारणले गेटबाटै फर्किएको बताएका छन् । त्यो विशेष कारण के हो भन्ने विषयमा भने खुलाएका छैनन् ।