काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशीविदेशी प्रतिक्रियावादी ठूलो ‘डिजाइन’अन्तर्गत लागिपरेको बताएका छन् ।
२६औँ निर्मल लामा स्मृति दिवसको अवसर पारेर आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। संयोजक दाहालले सो तथ्यलाई स्वीकार गरेर अघि बढने आँट नेपालको कम्युनिष्ट आन्दोलनले नगरे श्रमजीवि जनताप्रति ठूलो घात गरेको ठहर्ने पनि बताए।
उनले नेपालका कम्युनिष्ट पार्टीहरूले आफैंभित्र पहिला समीक्षा गरेर सच्याउने र सिङ्गै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर फेरि नयाँ ढंगले आन्दोलनमा जानुको विकल्प नरहेको दाबी समेत गरे।


