काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका यही भदौ ३० गतेदेखि म्यादी प्रहरीको भर्ना खुल्ने भएको छ । निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुलाइने भएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले भर्ना प्रक्रियाका लागि गृह मन्त्रालयले म्यादी प्रहरी छनोट मापदण्ड स्वीकृत गरेको जानकारी दिए । राईका अनुसार प्रहरी प्रधान कार्यालयले भदौ २६ मा म्यादी प्रहरी भर्नासम्बन्धी सूचना प्रकाशन गर्नेछ ।
“भदौ ३० देखि असोज ६ गतेसम्म भर्ना लिइनेछ । असोज ९ देखि १४ सम्म छनोट प्रक्रिया पूरा गर्नुपर्नेछ,” राईले भने, “अन्तिम नतिजा असोज २५ गते प्रकाशन गरिनेछ ।”
छनोट प्रक्रियामा स्थानीय निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई प्राथमिकता दिइने प्रवक्ता राईले बताए ।


