काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेत विजयी भएका छन्। उनी ३९ हजार ३६७ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले २७ हजार ४९३ मत मात्रै ल्याउन सफल भए।
पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका तामाङ ११ हजार ८७४ मतले पराजित भएका हुन्। पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बस्नेत यसपालि क्षेत्र नम्बर २ बाट निर्वाचन लडेका थिए । यसअघि उनी क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका थिए । गठबन्धनमा सन्तुलन मिलाउँदा निर्वाचन क्षेत्र १ माओवादी केन्द्रको भागमा परेपछि उनी २ मा जानुपरेको हो । सिन्धुपाल्चोकको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा सबै गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
उनी नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्मा, शेखर कोइराला, प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पछि धेरै मतान्तरका साथ विजयी भएर चौथौ स्थानमा पर्न सफल भएका छन् । यस क्षेत्रमा २०७४ को निर्वाचनमा नेकपा एमालेका नेता शेरबहादुर तामाङ निर्वाचित भएका थिए ।


