काठमाडौं । आगामी बैशाख ३० गते हुन लागेको निर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आज ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने निर्वाचन आयोगले जनाएको छ।
आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि दर्ता गराएका उम्मेदवारहरुले आज साँझ ५ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने बताएको हो।
यस्तै, आजै साँझ ५ बजे आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ। उम्मेदवारी फिर्ताको समय सकिएलगत्तै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ।
स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो। जसअन्तर्गत एक लाख ५३ हजार १४५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ।
आयोगले बिहीबार साँझ दर्ता भएका ती उम्मेदवारीमाथि परेका दावी विरोध तथा उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको थियो।