काठमाडौं । आज अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन हुँदै छ । आज हुने निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको छुट्टाछुट्टै प्यानलसहित उमेदवारी रहेको छ ।
चार वर्षअघिको निर्वाचनमा हाल फिफाबाट १० वर्ष प्रतिबन्धमा रहेका गणेश थापाको २१ वर्षे कार्यकालको चरम विरोध गर्दै ‘चेन्ज एन्फा अभियान’ मा लागेका शेर्पा र नेम्वाङले एउटै समूहबाट चुनाव जितेका थिए ।
तामझाका साथ उम्मेदवारी घोषणा गरेका दुवै पक्ष शनिबारदेखि मतदातालाई होटलमा राखेका छन्। शेर्पा पक्षले आफ्ना मतदातालाई शिवपुरीमा र नेम्वाङ पक्षले गोदावरीमा लगेर राखेको छ। आफ्ना मतदातालाई अर्को पक्षले प्रभाव र दबाबमा नपारोस् भन्नेमा दुवै पक्ष सजक देखिन्छन् । दुवैले आफ्नो पक्षको जित सुनिश्चित भएको दाबी गरिरहेका छन् ।


