काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटमा आज सुनुवाई हुने भएको छ । नेकपा एमालेले थापाले असंवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै रिट दायर गरेको थियो ।
सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुन लागेको हो ।
कोशी सरकारका पूर्व मुख्यमन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा आज नै सुनुवाइ गर्ने गरी पेशी तोकेको छ ।
प्रदेशसभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता कार्कीले परमादेशको माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।