काठमाडौं । नेकपा एमालेले आफ्नो आगामी महाधिवेशनस्थलका रुपमा छनोट गरेसँगै चितवनमा राजनीतिक सरगर्मी तातेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालपछि एमाले अध्यक्ष केपी शर्मा ओली चितवन पुगेर चुनावको झल्को दिएका छन् ।
प्रचण्डले अब आफ्नो जीवनको अन्तिम चुनाव चितवनबाटै लड्ने घोषणा गरेर फर्किएका थिए । उनले विभिन्न स्थानमा घरदैलोसमेत गर्दै विकासका आश्वासनहरु पनि बाँड्न भ्याए । यता, ओलीले चाहिँ आज दासढुंगा पुगेर मदन(आश्रितको शालिकमा माल्यार्पण गरे भने एमालेको भरतपुर महानगर कमिटीको अधिवेशनलाई सम्वोधन गरे ।
उनले आगामी चुनावमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ५० प्रतिशत सिट जित्ने गरी तयारी गर्न पार्टी पंतिलाई निर्देशन दिए । नेकपा एमालेलाई धाकधक्कु लगाउन नभएर देश बनाउनका लागि चुनावमा वर्चश्व चाहिएको उनले बताए ।
‘अब हामी आफ्नै एकल बहुमत ल्याउँछौं । जोडजाड होइन, एकल बहुमत । ५० प्रतिशतभन्दा बढी मत समानुपातिक र ५० प्रतिशतभन्दा बढी सिट प्रत्यक्षमा ल्याउनुपर्छ । त्यसका लागि तयारीमा लाग्नुस् । हामी सफल हुन्छौं,’ उनले भने ।
एमालेले चितवनमा महाधिवेशन गर्ने भन्नासाथ अरु पार्टीहरु छट्पटाएको भन्दै ओलीले कटाक्ष गरे ।
‘चितवनको महाधिवेशन गर्ने भन्या के थियौं, उखानमा सेरोफेरो सबै मेरो भनेजस्तो, मानिलिउ यो जिल्ला नै मेरो जस्तो गर्छन् बा १ चितवनमा महाधिवेशन गर्ने कौन सा ठूलो कुरा भयो रु हामीले पहिले बुटबलमा महाधिवेशन गर्यौं । नेपालगंजमा गर्यौं । जनकपुरमा गर्यौं । अहिले किन छटपटी ?’
महाधिवेशन गरे पनि नगरे पनि चितवनमा एमाले नै जित्ने ओलीले ठोकुवा गरे ।
उनले भने, ‘महाधिवेशन गरेर मात्रै हामीले यो जिल्ला कब्जा गर्ने होइन, जित्ने होइन । महाधिवेशन नगरे पनि जित्छौं, महाधिवेशन गरे पनि जित्छौं । हामीले यहाँ महाधिवेशन गर्दा किन टाउको दुखाई ? महाधिवेशन नगरे आफू जित्नेजस्तो पो गर्छन् ।’
‘जनताले एकपटक धोका पाए । म त धोका पाएर दुई(तीनपटक भोट माग्न आएँ । अब जनता लाटा छैनन् । झण्डै दुई तिहाई पुगेको कम्युनिस्ट पार्टी ध्वस्त पार्ने, को को हुन् चिन्या छैनन् रु अब जनताले चुनावमा भोट हाल्दा हात उनीहरुतिर जान थाल्यो भने पनि कार्यकर्ताले नै यसो वर्तिर सूर्यमा हाल्छन् । अब त्यो जमाना रहेन । अब सूर्यको जमाना आयो,’ उनले भने ।
‘एमालेको महासागर, महाभेल अब आउँदैछ । कसैले रोक्न सक्दैन । सचेत तयारी गर्नुपर्छ । आन्तरिक एकता गर्ने हो । लड्नलाई विरोधी छदैछन्,’ उनले भने ।
एमालेलाई सरकारबाट ढाल्न कुनै संवैधानिक बाटोबाट सम्भव नभएको, एमाले फुटाउन संवैधानिक बाटो नभएकाले जालझेल गरिएको उनको आरोप थियो ।
‘४० लाई २० प्रतिशत झारियो । र लाई वा मा झारेर, संसद बन्द गरेर, हामीले निष्काशन गरेका, कारवाही गरेकालाई कायम राखेर, बलजफ्ती, संविधानको धज्जी उडाएर, मर्यादित संस्थाहरुको हुर्मत लिएर एमालेलाई परमादेशबाट हटाइयो,’ उनले भने, ‘किनभने कुनै वैधानिक र सही बाटोबाट एमालेलाई सकिँदै सकिँदैन । त्यसकारण गलत बाटोबाट परमादेशबाट हटाइयो । एमालेसँग अगाडिबाट लड्ने हिम्मत छैन । त्यसकारण पछाडिबाट झुक्याएर परमादेशबाट हटाइयो । परमादेश भनेको त झुक्याएर असंवैधानिक ढंगबाट पछाडिबाट हान्ने रहेछ ।’
ओलीले अगाडि थपे, ‘चुनाबबाट कहिलेसम्म भाग्छन् ? दुई पटक त भागे, अब सक्दैनन् । चैतमा स्थानीय चुनाव गर्ने भनेका छन् । स्थानीय चुनावमा यिनीहरुलाई धोवीले लुगा पछारेझैं पछार्नुपर्छ। यस महानगरमा अरुले उम्मेदवार हाल्न मन लागे हाल, मन नलागे नहाले पनि हुन्छ । जित्ने एमालेले हो ।’