काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता नेता रामचन्द्र पौडेलले राष्ट्रपतिबाट लोकतान्त्रिक प्रणाली नै खतरामा परेको बताएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि यस्तो बताएका हुन् ।
“जननिर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणालीनै खतरामा पार्ने काम भएको छ,” पौडेलले ट्विटरमा लेखेका छन्, “बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनु व्यवस्थामाथिको प्रहार हो । म यसको भर्त्सना गर्दछु ।”
संवैधानिक व्यवस्था अनुसार दोस्रोपटक संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले मंगलबार राति १२ बजेसम्म विधेयक प्रमाणीकरण गर्नैपर्ने भए पनि देशहितमा नभएको भन्दै उनले प्रमाणिकरण गरिनन् ।


