काठमाडौं । भाद्र शुक्ल तृतीया अर्थात् हरिलालिका तीज। सनातन धर्मावलम्बी महिला उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन्।
बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ। त्यसैले यसरी व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वास गरिन्छ।
विवाहिताले पति र छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताले असल पतिको कामनामा व्रत बस्ने परम्परा छ। काठमाडौंस्थित पशुपतिनाथ, गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर र दोलखाको भीमेश्वरलगायत शिवालयमा श्रद्धालुको घुइँचो लाग्छ।
तीजका बेला सौभाग्यका सूचक राता वस्त्र तथा आभूषण लगाउने चलन छ। पछिल्लो समय तीज पर्वमा विकृति देखा गर्दै गएको भन्दै आलोचना समेत हुँदै आएको छ ।


