काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि सोमबारसम्म करिब ७ करोड मतपत्र छपाइ सकिएको जनाएको छ ।
यस पटक समानुपातिकतर्फ करिब ४ करोड तथा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ करिब ४ करोड मतपत्र आवश्यक पर्ने आयोगले बताएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइसकेको छ भने सोमबारसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ २ करोड ८६ लाख ८८ हजार ५०० मतपत्र छपाइ भएको छ । अब करिब एक करोड १४ लाख मतपत्र मात्र छपाइ गर्न बाँकी छ ।
छपाइ भएका पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र मध्ये १ करोड २९ लाख ५३ हजार ५०० प्रदेश सभा तथा १ करोड ४६ लाख ३५ हजार प्रतिनिधि सभाको मतपत्र रहेका छन् ।


