काठमाडौं । नवरात्रको चौथो दिन दसैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।
प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
नवरात्रको पहिलो दिन असोज २१ गते बिहीबार दसैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।
दोस्रो दिन शुक्रबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो ।
चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमदेवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।