काठमाडौं नेपाली कांग्रेसको पदाधिकारी बैठकले अधिवेशन सार्ने विषयमा गरेको निर्णयप्रति कांग्रेसकै प्रभावशाली नेताहरूले आपत्ति ब्यक्त गरेका छन् ।
कांग्रेस केन्द्रीय सदस्यद्वय डा. शेखर कोइराला र गगनकुमार थापाले १४ औं महाधिवेशनका सन्दर्भमा पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले गरेको निर्णयप्रति आपत्ति जनाएका हुन् ।
शुक्रबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले असोज ९ गते ६४ जिल्लामा पालिका अधिवेशन गर्ने र दशैँअघि हिमाली २१ जिल्लामा मात्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो ।
कोइराला र थापाले समाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् । कोइरालाले वडा अधिवेशन सकिएका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि जिल्ला अधिवेशन गर्नुको कारण माग गरेका छन् ।
‘नेपाली कांग्रेसको क्रियाशील सदस्यता सार्वजनिक भएर वडा अधिवेशन सकेका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि अधिवेशन गर्नु पर्नुको कारण के हो ?,’ कोइरालाको प्रश्न छ, ‘सँगैको जिल्लामा गर्ने र छिमेकी जिल्लामा नगर्ने भन्ने पनि हुन्छ ?’ ‘पदाधिकारी बैठकमा केन्द्रीय महाधिवेशनको मिति सार्ने विषयले प्रवेश पायो भन्ने सुन्नमा आएको छ । महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीहरूलाई कसले दियो ?’ कोइरालाले आक्रोश ब्यक्त गरेका छन् ।
नेता थापाले ट्विटरमा लेखेका छन्, ‘कति सजिलै सर्छ अधिवेशनको मिति १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन । कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा बस्नु नपर्ने, बेथितिको जिम्मा लिनै नपर्ने ?’