काठमाडौं । सत्तामा सहभागी दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहितका दलले गठबन्धनको नाममा सत्ता कब्जा गर्न लागेको आरोप लगाएका छन् ।
उनले पिछडा वर्ग महासंघ (ओबीसी को तेश्रो राष्ट्रिय सम्मेलन कार्यक्रमलाई शनिबार जनकपुरमा सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले गठबन्धनको नाममा आँखा बन्द गरेर कांग्रेस र कम्युनिष्टहरूमाथि विश्वास गर्ने जस्ता आत्मघाती कदम उठाउने भन्दै हैसियतको आधारमा सिटमा तालमेल नभए गठबन्धनमा नबस्ने चेतावनी दिए ।
अध्यक्ष यादवले गठबन्धनमा बराबरीको हक नदिए जसपाले गठबन्धन बाहिर रहेर पनि काठमाडौँमा एक्लै चुनाव लड्ने जिकिर गरे । ‘लोकतन्त्र र संविधानको रक्षाका लागि जसपाले सडक आन्दोलन गर्यो, तर आज हामीलाई कमजोर बनाउन गठबन्धनको नाममा कमजोर बनाउन खोजिँदैछ,’ उनले भने ।
उनले जसपा समग्र ओबीसी र मधेशीलाई एकजुट हुन आग्रह समेत गरे ।


