काठमाडौं । नेपाली कांग्रेसको आजबाट सुरु भएको १४औं महाधिवेशनमा जुम्लाकी रामदेवी खड्काले केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएकी छन् ।
नेपाल निर्माण व्यावसायी महासंघकी केन्द्रीय सदस्य तथा संघर्षशील महिला खड्काले पार्टीलाई गतिशील र जिवन्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताएकी छिन् । ‘हामीजस्ता मान्छे केन्द्रीय समितिमा आयौं भने पार्टी संगठनलाई पनि फाइदा हुन्छ’ उनले भनिन् ‘सबैको कांग्रेस र साझा कांग्रेस बनाउने मेरो उद्येश्य हो, यसमा समर्थन गरिदिनुहोला भन्ने आशा गरेको छु ।’ उनले आफू लामो समयदेखि राजनीतिमा लागेकाले पनि आफ्नो अनुभव पार्टीको लागि काम लाग्ने दाबी गरेकी छिन् ।
खड्काले पार्टी नेतृत्वमा युवाहरुको उपस्थिति र भूमिका महत्वपूर्ण हुने बताइन् । उनले एक व्यक्ति, एक पदका बारेमा पहिलेदेखि नै प्रष्ट रुपमा बोल्दै आएकी छिन् । उनले पाटीलाई युवा नेतृत्वले अघि बढाउन सक्ने भएकाले केन्द्रीय समितिमा युवा जोश र जाँगर भएकालाई समेट्नुपर्ने बताएकी छिन् । उनले महाधिवेशन प्रतिनिधिहरुलाई आफ्नो अमूल्य मत प्रदान गर्नसमेत आग्रह गरेकी छिन् । उनी २०७४ सालको निर्वाचनमा कांग्रेसको समानुपातिक सांसदको बन्दसूचीमा परेकी थिइन् । उनी सफल र संघर्षशील निर्माण व्यावसायी पनि हुन् ।
विद्यार्थी जीवनकालदेखि राजनीतिमा सक्रिय नेता खड्काले आफ्नो उम्मेदवारी पार्टीलाई बलियो बनाउनका निम्ति भएको बताएकी छिन् ।