काठमाडौं , ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सोमबार निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेकी छन् । मन्त्री भुसालले नदी फर्काउने, बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माण स्थल र निर्माणाधीन भूमिगत विद्युतगृह, टेलरेस, सुरुङलगायतका संरचनाको निरीक्षण गरेकी हुन् ।
सो क्रममा मन्त्री भुसालले सरकारी तहबाट निर्माण भइरहेको जलाशययुक्त आयोजनाको काममा बिलम्ब नगरी तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिइन् । ‘कुलेखानी बाहेक सञ्चालमा रहेका सबै आयोजनाहरू नदीको बहावमा आधारित भएकोले हिउँदमा उत्पादन घट्दा अझै पनि विद्युत आयात गर्नु पर्ने र वर्खामा खपत गर्न नसकी खेर फाल्नु पर्ने अवस्था छ’ भुसालले भनिन् ‘यस्तो अवस्थाको अन्त्यका लागि रणनीतिक महत्वको जलाशययुक्त तनहुँ आयोजनाको निर्माणमा ढिलाइ हुनु हुँदैन, तोकिएकै समय र लागतका सम्पन्न गर्नु पर्छ ।’
उनले निर्माणका क्रममा आउने समस्या तत्काल जानकारी गराउन र त्यस्ता समस्या समाधान गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् । आयोजनाको जलाशय बनेपछि यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने र त्यसबाट स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिन सक्ने उनको भनाइ छ आयोजना प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावरका प्रबन्ध–सञ्चालक किरण कुमार श्रेष्ठले निर्माणमा हालसम्म प्राप्त भौतिक तथा वित्तीय प्रगति तथा समस्याका विषयमा जानकारी गराएका थिए ।