काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अझै केही जिल्लाको क्रियाशील सदस्यताका विवाद टुंग्याउन नसकेकोमा आक्रोष पोखेका छन् । विवाद समाधान गरेर जानुपर्छ भनेर आफूहरूले आवाज उठाए पनि पदाधिकारीहरूले नै पार्टीका कुरा बाहिर नलैजान भन्ने गरेको उनले खुलाए ।
‘दम्भ देखायो भन्छन्, हामीले के दम्भ देखाउने ? ,’ आफ्नै निवास चाक्सीबारीमा सोमबार बिहान नेता कार्यकर्तासँग उनले प्रश्न गरे, ‘दम्भ त जो पार्टी सत्तामा छ, संस्थापनमा छ उनीहरूले देखाएका छन्। केन्द्रीय कार्यालयमा कार्यकर्ता धर्ना बसेको ८० दिन नाघिसक्यो, यसमा कुरा उठायो भने पदाधिकारीहरू स्यालको हुइयाँजस्तो पार्टीको आवाज बाहिर उठाउन भएन भन्छन्।’
पार्टी पदाधिकारीहरूले बेलैमा क्रियाशील सदस्यताको विवाद हल गर्नुपर्नेमा त्यसो नगर्दा समस्या भइरहेको उनले बताए। ‘काम चाहिँ गर्न नहुने खालका गर्ने, कार्यकर्ताको मनोबल गिराउने काम गर्ने अनि हामीले यसो गर्न पाइँदैनभन्दा बोल्न पाइँदैन भनेर भन्ने तिनीहरू को हुन् ? यो पार्टीमा सबैको लगानी छ, पदमा पुगेँ भनेर चाकडी गर्ने र गुणगान मात्रै गाउने ?’