काठमाडौं । चर्चित माओवादी नेता बालकृष्ण ढुंगेलले नेकपा एमालेमा बाजी मारेका छन् । द्धन्द्धकालीन मुद्दाका कारण सर्वस्वसहित जन्मकैदको सजाय खेपेर चर्चामा आएका तत्कालीन माओवादी नेता तथा संविधानसभा सदस्य बालकृष्ण ढुंगेल नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चयन भएका छन् । अध्यक्ष केपी शर्मा ओली प्रमुख रहेको पार्टी स्कूल विभागबाट ढुंगेल दशौं महाधिवेशनका लागि प्रतिनिधि चयन भएका हुन् ।
ओखलढुंगा जिल्लाबाट २०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएका ढुंगेल हाल एमालेको प्रदेश १ को प्रदेश कमिटी सदस्य छन् । ढुंगेल गत वर्ष नेकपा विभाजन भएपछि प्रचण्डलाई छाडेर केपी ओली पक्षमा उभिएका थिए ।
प्रचण्डले जनयुद्धलाई आफ्नो र परिवारको स्वार्थसिद्ध गर्ने भर्याङ बनाएको र कार्यकर्तालाई मुद्दामा फसाएर आफू प्रधानमन्त्री बनेको भन्दै ढुंगेलले विद्रोह गरेका हुन् ।
उनले ओखलढुंगाबाट निर्वाचित जनप्रतिनिधिसहित कार्यकर्ताहरु समेत माओवादीबाट एमालेमा लिएर गएका थिए । ढुंगेलसँगै स्कूल विभागबाट दयालवहादुर शाही,घनश्याम कोइराला,हिमवहादुर क्षेत्री,तेजकुमारी खड्का लगायत महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।