काठमाडौं । नेकपा एमालेको अब बन्ने नयाँ नेतृत्वमा नेकपा माओवादी केन्द्रबाट पार्टी प्रवेश गरेको समूहले तीन पदाधिकारी माग गरेको छ। रामबहादुर थापा बदालसहित शनिबार बसेको पूर्वमाओवादी नेताहरूको बैठकले आफ्नो समूहबाट कम्तीमा तीन पदाधिकारी र ३५ जना केन्द्रीय सदस्य बनाइनुपर्ने निष्कर्ष निकालेको हो।
स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीका अनुसार उपाध्यक्ष, उपमहासचिव र सचिव तथा ३५ जना केन्द्रीय सदस्य दिनुपर्ने माग गरिएको हो। यस विषयमा रायमाझी, लेखराज भट्ट र मणि थापा ओलीसँग छलफलमा छन्।
ओली बसेकै होटलमा तिनै नेता पुगेका छन्। उपाध्यक्ष रामबहादुर थापा, उपमहासचिव रायमाझी र सचिव भट्टलाई बनाउनुपर्नेगरी सूची पेस गरिएको छ। यसैगरी कम्तीमा ३५ जना केन्द्रीय सदस्य आफ्नो समूहबाट बनाइनुपर्ने माग उनीहरूले गरेका छन्।
यस्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ जना पदाधिकारीको सूची तयार पारेका छन् । उक्त सूची शनिबार राति तयार पारिएको हो । ओलीले तयार पारेको सूचीमा माओवादीबाट आएका नेताहरुले महत्वपूर्ण जिम्मेवारी पाउने भएका छन्। ओलीले उपाध्यक्ष पदमा रामबहादुर थापालाई समावेश गरेको स्रोतले बताएको छ।
त्यसैगरी उपमहासचिवमा टोपबहादुर रायमाझीलाई राखिएको छ भने सचिवमा लेखराज भट्ट अटाएका छन्। उनीहरू पनि पूर्व माओवादी हुन्।
पदाधिकारीमा पूर्व माओवादीहरुले महत्वपूर्ण पद पाउँदा एमाले कै नेताहरू युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्यलाई समेटिएका छैनन् । ओली पक्षका एक नेताका अनुसार सुरेन्द्र पाण्डेलाई संगठन विभागको जिम्मेवारी दिने आश्वासन दिइएको थियो भने अन्य नेताहरूको हकमा केही भनिएको छैनन् ।