काठमाडौं । नेकपा (माओवादी केन्द्र) प्रदेश १ को पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । निर्वाचन समितिले साँझ ७ बजेदेखि मतदानका लागि समय तोकेको छ ।
निर्वाचनमा पदाधिकारी चयनका लागि प्रदेश समितिका २५९ जनाले मतदान गर्नेछन् ।
माओवादी केन्द्रको प्रदेश समितिमा ९ जना पदाधिकारी रहने व्यवस्था छ । सहमतिको प्रयासका नाममा १२ दिनसम्म चुनाव नगरी बसेको माओवादीले चुनाव र मतगण्ना तथा शपथ ग्रहणसमेत आजै गर्ने तयारी गरेको छ ।
सर्वसम्मत गर्ने प्रयास असफल भएपछि मतदानबाट पदाधिकारीको टुंगो लागिएको निर्वाचन समिति संयोजक राजन किरातीले बताए ।
निर्वाचन समितिले शपथ ग्रहण राति साढे ११ बजेका लागि तोकेको छ अध्यक्ष पदमा हर्कबहादुर लावती र मोक्साहाङ मेन्याङ्बो मुख्य दाबेदार देखिएका छन् ।