बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आफूलाई आफ्नो स्वास्थ्य भन्दा जनताको सेवा बढी महत्वपूर्ण रहेको बताएका छन् । उनले आज (सोमबार) भोटेकोसी गाउँपालिका को हिन्दी बजारमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
नेपाली कांग्रेस भोटेकोशी गाउँपालिका एकाइले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि रहेका नेता बस्नेतले आफ्नो गोडामा लागेको चोटका कारण कम्तीमा पनि एक महिना आराम गर्नुपर्ने डाक्टरको सुझाव भएपनि जनताको विकास र संमृद्धिका लागि आफू स्वास्थ्यलाई समेत परवाह नगरी अगाडि बढिरहेको बताए । उनले आम नागरिकलाई अप्ठ्यारो पर्दा कांग्रेस चुप लागेर बस्नै नसक्ने दावी गरे ।
अन्य राजनीतिक दलले जितेका स्थानीय तहहरुमा कोभिड महामारीको रोकथाम तथा नियन्त्रणका लागि केही उल्लेखनीय काम नगरेको आरोप लगाउँदै कम्युनिष्ट पार्टीको सस्तो नारामा युवाको भविष्य नभएको उल्लेख गरे । कार्यक्रममा नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टी परित्याग गरी २२५ भन्दा धेरै ब्यक्तिहरु कांग्रेस प्रवेश गरेका थिए । उनीहरुले आफ्नो स्थानीय तहले जनताको लागि खासै उल्लेखनीय काम गनर्सभन्दा पनि सस्तो प्रचारबाजी मात्रै गरेको बताएका थिए । नेता बस्नेतले भोटकोशी गाउँपालिकामा रहेका ५ ओटा स्वास्थ्य चौकीलाई ३ हजारका दरले मास्क, सिटामोल लगायतका स्वास्थ्य सामग्री हस्तान्तरणसमेत गरेका थिए ।
सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने निर्णय गरेसँगै सिन्धुपाल्चोक जिल्लामा अन्य पार्टी परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गर्ने लहर चलेको युवा नेता युधिर पौडेलले जानकारी दिए ।