काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको समुचित प्रयोग गर्न सकेको खण्डमा दिगो विकासका लक्ष्य प्राप्त गर्न सकिने बताएका छन्।
उनले सोमबार पाँचौँ राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै विश्वव्यापी रूपमा सञ्चार तथा सूचना प्रविधिको बढ्दो प्रयोगले राज्यव्यवस्था सञ्चालन, विकास व्यवस्थापन, सार्वजनिक सेवा, सूचना–प्रवाह र सामाजिक अन्तरक्रियालगायत विषयमा आमूल परिवर्तन हुँदै आएको बताए ।
सूचना तथा सञ्चार प्रविधिको विकास एवं विस्तार गरी सुशासन कायम गर्न डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यान्वयनको प्रक्रियामा रहेको भन्दै उनले प्रविधिको प्रयोग बढाउँदा गुणस्तर कायम गर्न र यसबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्नु आजको आवश्यकता भएको धारणा राखे।