काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले हालसम्म ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्रको छपाइ सम्पन्न भएको जानकारी दिएको छ।
सोमबार आयोगका प्रवक्ता शालिकराम शर्माले पत्रकार सम्मेलनमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये हालसम्म ४६ जिल्लाको ९५ लाख २५ हजार थान मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले आगामी स्थानीय तह निर्वाचनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साइनबोर्ड, लेटरहेड र छापमा एकरुपता कायम गर्न आयोगले ७७ वटै मुख्य निर्वाचन अधिकृत र ६७६ वटै निर्वाचन अधिकृतको कार्यालयलाई प्रयोग गर्ने साइनबोर्ड, लेटरहेड र छापको नमुना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत पठाउन पत्राचार गरेको उनले बताए।
स्थानीय तह निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्ने समाचार र सूचनाको आधारमा आयोगले विभिन्न राजनीतिक दल र सम्बन्धित नेतासँग चित्तबुझ्दो जवाफ पेस गर्न पत्राचार गरेको र जवाफ आएकाले केही दिनमा निर्णय हुने बताए।