काठमाडौं । नेकपा (एकीकृत समाजवादी( का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले समानुपातिकमा २० लाख मत ल्याउने बताएका छन् । उनले विराटनगरमा आयोजित पेशागत महासंघको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले समानुपातिकबाट २० लाख मत ल्याए २० देखि २५ सिट आउने बताए । ‘समानुपातिकमा ११० सिट मध्ये २० लाख मत ल्याए २० देखि २५ सिट सुरक्षित हुन्छ,’ नेपालले भने ।
नेपालले गठबन्धन गर्ने विषयमा कांग्रेसमा अहंकार देखिएको बताए । २०७४ सालमा २३ सिट जितेको कांग्रेसले १ सय सिट दाबी गर्नु नै अहंकार भएको उनको भनाइ छ । ‘हाम्रो पार्टीमा उम्मेद्वारको कमी छैन । जित्ने ठाउँमा उम्मेद्वार खडा गर्नुपर्दछ । त्यसका लागि कांग्रेस, माओवादी र जनता समाजवादीसँग छलफल गरिरहेका छौं । सहमतिको प्रयास गरिहेका छौं,’ नेपालले भने, ‘कांग्रेसमा अहंकार देखिएको छ । सय सिट चाहियो भनिरहेको छ । उब्रेको सिट तिमीहरु बाँड भन्छ । हामीले उसलाई भनेका छौं । तिमीहरुले आफ्नौ हैसियतभन्दा बढी माग्ने आँट नगर । ०७४ सालमा कांग्रेसले जितेको जम्मा २३ सिट हो । त्यसको तीन गुणा काँग्रेसले लिँदा हुन्छ । हामी ७० भनिरहेका छौं । उ सय भनिरहेको छ ।’


