काठमाडौं । निर्वाचन आयोगले आजबाट राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको छ।
संवैधानिक व्यवस्था अनुसार उक्त निर्वाचनका लागि संघीय संसद्मा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कूल ८८२ मतदाता रहेको निर्वाचक मण्डल गठन हुनेछ। स्वीकृत कार्यक्रमबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भइ यही फागुन १३ गते उम्मेदवारीको मनोनयनपत्र दर्ता भइसकेको छ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार जारी गरेको पेस विज्ञप्तिमा जनाइएको छ ।


