काठमाडौं । पार्टी अध्यक्ष केपी ओलीका कारण आफू एमाले त्याग्न बाध्य भएको घनश्याम भुसालले जानकारी दिएका छन् । एमालेले टिकट नदिएपछि त्रिभुज चिह्न लिएर रुपन्देही–१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका उनलाई एमालेमा वैचारिक नेताको रुपमा चिनिन्थ्यो ।
ओलीले देशको संविधानमा आगो लगाउन थालेपछि पाँच दलीय गठबन्धन बनेको र गठबन्धनले नै लोकतन्त्र र संविधानको रक्षा गर्ने उनको तर्क दाबी छ । ‘एमाले, राप्रपा र जसपाको गठबन्धन चुनाव जित्ने उद्देश्यले बनेको हो भने हाम्रो गठबन्धन संविधानको रक्षा र विकासको लागि बनेको हो’, उनले भने ।
भुसालले देवदह यस क्षेत्रको नेता पालिका भएकोले रुपन्देही–१ को विकासको नेतृत्व देवदहले गर्नुपर्ने बताए । रोजगारी र विकास अबको एजेन्डा हुने बताउँदै उनले अब देवदहको प्रतिस्पर्धा बुटवल र आसपासका सहरसँग हुने र विकासमा देवदहले नयाँ फड्को मार्ने दाबी गरे ।


