काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धानको उत्पादन गरेर आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका छन् । उनले उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना दिँदै यस्तो बताएका हुन् ।
प्रधानमन्त्री देउवाले परापूर्वकालदेखि नै नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक महत्व बोकेको धान तथा धानखेती नेपाली समाजको अभिन्न जीवन पद्धतिको रूपमा रहेको उल्लेख गर्दै अधिकांश नेपालीको आधारभूत खाद्य वस्तुको स्रोतको रूपमा रहेको धान बालीले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिनुका साथै खाद्य सुरक्षाको दृष्टिले समेत सर्वोपरि स्थान ओगटेको बताए।
नेपालको संविधानले खाद्यसम्बन्धी हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ । उक्त हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ समेत जारी गरिसकिएको उनले बताए ।


