काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणीकरण गरेको नागरिकता विधेयक नेपालको संविधान प्रतिकूल भएको सर्वोच्च अदालत बार एशोसिएसनले जनाएको छ । बार एशोसियसनका सचिव श्यामकुमार खत्रीले एक जारी विज्ञप्ति जारी गर्दै यस्तो उल्लेख गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानु केही घण्टा अघि राष्ट्रपति पौडेलले अघिल्लो संसदमा बहुमतले पारित भएर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा राष्ट्रपति कार्यालय पुगेको विद्येयक ८ महिना पछि प्रमाणिकरण गरेका थिए ।
सामान्यतयाः संघीय संसदका सभामुखले पठाएको विधेयकलाई राष्ट्रपतिले प्रमाणिकरण गर्ने नियम भए पनि मन्त्रिपरिषद्को सिफारिसमा पठाइएको विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे पछि विवाद भएको थियो ।
विधेयक प्रमाणीकरण भएपछि सर्वोच्च अदालतमा मुद्दा परेको र अदालतले सो विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिइसकेको छ ।


