काठमाडौं । अबदेखि फौजदारी अभियोग लागेका सांसद पुर्पक्षका लागि थुनामा गएमा स्वतः निलम्बनमा पर्ने भएका छन्।
प्रतिनिसभाको नियमावली बनाउनका लागि गठित मस्यौदा समितिले लामो छलफलपछि यस्तो प्रावधान गर्न लागेको हो ।
अघिल्लो संसदको नियमावली र मस्यौदा समितिमा करिब तीन हप्तासम्म भएको छलफलका क्रममा सांसदहरु दोषी ठहर भएको अवस्थामा मात्रै निलम्बन हुने पक्षमा रहे पनि बुधबार पुर्पक्ष थुनामै गए पनि निलम्बन हुने प्रावधान राख्न सहमत भएका हुन्।
साविक व्यवस्थाअनुसार कुनै सांसद तीन वर्षभन्दा बढी कैद सजाय हुने फौजदारी अभियोग लागेपछि अनुसन्धानको क्रममा पक्राउ परेमा, पुर्पक्ष थुनामा गएमा वा फरार रहेको अवस्थामा उसले सांसदका रुपमा कुनै काम काबारही गर्न नपाउने र सेवा सुविधा मात्रै स्थगित हुने व्यवस्था थियो।


