काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले पूँजीगत खर्च बढाउन र चालु खर्च घटाउन निर्देशन दिएका छन्।
मन्त्री पौडेलले सोमबार अर्थ मन्त्रालयमा आज आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनसम्बन्धी छलफलमा पूँजीगत खर्च र राजस्व परिचालनको अवस्था चिन्ताजनक रहेको बताउँदै राजस्व परिचानलमा कडाइका साथ प्रस्तुत हुन र पूँजीगत खर्चलाई विशेष प्राथमिकता दिएर काम गर्न निर्देशन दिएका हुन् ।
नेपाल सरकारको स्रोतबाट खर्च हुने सबै शीर्षकमा छुट्याइएको रकम सोही शीर्षकमा मात्र खर्च गर्न, चालु प्रकृतिका खर्च निरुत्साहित गर्न, अनिवार्य दायित्व बाहेक कुनै पनि शीर्षकमा थप बजेट माग नगर्न आग्रह गर्दै उनले शोधभर्ना लिने कार्यलाई प्राथमिकता दिन निर्देशन दिए ।
पूँजीगत खर्च तोकिएको परियोजनामा समयमा सम्पन्न गर्न, स्वीकृत दरबन्दी बाहेकमा कुनै पनि किसिमको दायित्व सिर्जना हुने गरी जनशक्ति व्यवस्था नगर्न पनि निर्देशन दिए।


