काठमाडौं । आज दिउँसो १ बजे बागमती प्रदेशसभा बैठक आह्वान गरिएको छ।
गत असार १६ गते प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित गरे लगत्तै अनिश्चित कालका लागि स्थगित गरिएको प्रदेशसभाको चालु १०औं अधिवेशनको २५ औं बैठक आज बस्ने भएको हो।
आजको प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेश र विभिन्न समितिमा रहेका विधेयकमाथि दफावार छलफल भई प्रतिवेदन तयार भएका उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।
संसद्मा संशोधनका लागि पेश भएका केही प्रदेश ऐन संशोधन विद्येयक–२०७९ माथि छलफल हुने कार्यसूची समेत रहेको छ। सचिवालयले बैठकमा सहभागि हुन सबै सांसदहरूलाई सूचना जारी गरिसकेको जनाएको छ । तर, आजको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अधिकांश सांसद अनुपस्थित हुने भएका छन्।
पूर्व निर्धारित कार्यतालिका अनुसार पार्टीको आन्तरिक कार्यक्रम र बैठक राखिएकाले प्रदेश सभाको बैठकमा एमालेका सांसद अनुपस्थित हुने भएका हुन्।


