काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आफूलाई इलाम–१ मा धाँधली गरेर हराइएको दावी गरेका छन् ।
पुनः मतदान गराउनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दिएका खनालले आफ्नो निकटतम प्रतिस्पर्धीसँग मिलेर निर्वाचन अधिकृत र अरु कर्मचारीले आफूलाई पराजित गराएको दाबी गरेका हुन् ।
उनले वारेशमार्फत सर्वोच्च अदालतमा पेस गरेको निवेदनमा भनिएको छ, ‘निर्वाचन अधिकृत तथा मतदान अधिकृतको अन्यायपूर्ण र पक्षपाती निर्णय र कार्यले निर्वाचन निष्पक्ष नभएकाले मेरो संवैधानिक, कानूनी, नागरिक एवं राजनैतिक अधिकारको हनन् भएकाले पक्षपातपूर्ण निर्वाचन बदर गरी पुनः निर्वाचन गराउने गरी इन्फास हुन अदालतमा आएको छु ।’
खनालले ५९ हजार ३७९ मत खसेकोमा गन्ने बेलामा ५९ हजार ७०५ मत पाइएकोले धाँधली भएको पुष्टि हुने दाबी गरेका छन् ।


