काठमाडौं । नेकपा (एमाले) सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघलाई राज्यले नै संरक्षित गुण्डागर्दी गर्न छुट दिएको आरोप लगाएको छ ।
नेकपा एमालेका उप महासचिव प्रदीप कुमार ज्ञवालीले सोमबार प्रतिनिधिसभा बैठकमा त्रिविमा नेविसंघले गुण्डागर्दी गर्दा पनि राज्य मौन देखिएको भन्दै आपत्तिसमेत जनाए । त्रिविमा देखिएको समस्या समाधान नगरे संसद् चल्न नदिने एमालेको चेतावनी छ ।
ज्ञवालीले नेविसंघलाई मण्डलेको अवतारमा उतार्न खोजेको हो ? भन्दै प्रश्न गरे । उनले त्रिविमा भएको आन्दोलनका विषयमा कुलपतिले जवाफ दिनुपर्ने माग गरे ।
लामो समयदेखि विश्वविद्यालयमा तालाबन्दी हुँदा पठनपाठनमा समस्या हुँदै आएको छ भने आइतबार नेवि संघ र अनेरास्ववियुबीच तालाबन्दीका विषयमा झडपसमेत भएको थियो ।


